महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यावस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । भीमदत्त नगरपालिकाले सडकमा छाडिएका गौ तथा नंदीका लागी पराल,चिलो संकलन गरिरहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनुभयो । ‘सडकमा छाडिएका गौमाता तथा नंदीको उचित व्यवस्थापनका लागी हामी निरन्तर लागीरहेका छौ ।
गौ–नंदी व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्था,व्यक्ति तथा स्थानिय समुदायसंग निरन्तर छलफल गरिरहेका छौ ।’ नगर प्रमुख बोगटीले भने, ‘चौपायाको व्यवस्थापनका लागी टहरा (गोठ) निर्माण गर्न खर संकलन गरिएको छ,चौपायको गणना गर्ने काम भइरहेको छ, एक करोड रुपैया बराबरको अक्षय कोष निर्माण गर्ने निर्णय भएको छ ।’ उनले भने ‘अहिले लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरसंग समन्वय गरी चौपायाका लागी पराल र चिलो संकलन गर्ने काम भइरहेको छ ।
गौ–नंदीका लागी आवश्यक सबै संरचना तथा सामाग्री, आहाराको संकलन गरी अब केही दिनमै सडकमा छाडिएका गौ–नंदीको व्यवस्थापन गर्छौ ।’ सामुदायिक चौपायको व्यवस्थापनका लागि सबैको साथ सहयोगको आवश्यकता रहने नगर उपप्रमुख नीलम लेखक जोशीले बताईन् । ‘हामीले चौपायको व्यवस्थापनका लागि टहरा निर्माण गर्न खर संकलन गरिसकेका छौ ।’ नगर उप–प्रमुख जोशीले भनीन, ‘अहिले तीनको आहाराका लागी पराल चिलो संकलन गर्ने काम भइरहेको छ ।’ उनले भनीन ‘एक्लो नगरपालिकाले मात्रै यो समस्या समाधान हुदैँन त्यसैले यो समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहन्छ ।’
केहि साता पहिले नगरप्रमुख बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी, ७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो ।
उक्त समितिलाई प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित जग्गा एवम् क्षेत्रहरुमा टहरा निर्माण गरी चौपाया व्यवस्थापन गरिने नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।
Comments are closed.