लेखराज भट्टको घरमा गएर प्रधानमन्त्री प्रचण्ड, दिए यस्तो प्रत्रिक्रिया

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको नेकपा एमालेका सचिव लेखराज भट्टको घर पनि पुगेका छन् । प्रधानमन्त्री दाहालले एमाले सचिव भट्टसँग राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि कुराकानी गरेका छन् ।

‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यो घरको माथि एउटा कोठा छ, त्यहाँ म बस्थेँ,’ भट्टसँग भेटघाट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ । बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो ।’

भट्ट पहिले माओवादीमै थिए । नेकपाको एकीकरणबारे सर्वोच्च अदालतको आदेशपछि उनी एमालेमा लागेका हुन् । भट्टले पनि प्रधानमन्त्री प्रचण्डलाई घरमा स्वागत गरेको बताए। आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको र चिया खाएर प्रधानमन्त्री दाहाल गएको उनको भनाइ थियो ।

यो भेटघाट तपाईंलाई माओवादीमै फर्काउने रणनीति हो? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै एमाले सचिव भट्टले भने, ‘यो त अलग विषय हो, त्यो विषयमा हामीबीच अहिले कुनै छलफल नै भएन । त्यो अहिले सम्भावना पनि छैन ।’ प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा सहभागी हुन धनगढी गएका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.