बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा ६ जना, बालुवाको ढिस्कोमा पुरीएर २ जना र एकजनाको भिरबाट लडेर मृत्यु भएको हो । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ । उनीहरू सबै एकै गाउँका हुन् । जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप चालक भने फरार रहेका छन् । यस्तै बैतडीमा बालुवाखानीमा च्यापीएर घाइते भएका थप एक पुरुषको मृत्यु भएको छ । बालुवा खानीमा च्यापीएर घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो संगै मृतको संख्या दुई पुगेको छ । मंगलबार साँझ सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।

ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए ।

सम्बन्धित

Comments are closed.