महेन्द्रनगर । डडेल्धुरामा रहेको ऐतिहासिक पुरातात्विक तथा पर्यटकिय स्थल घटालथानमा शनिवार बिसु जात मेला लाग्ने भएको छ । धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित घटाल थानमा लाग्ने बिशु जाँतको तयारी पूरा भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थानमा नयाँ वर्षको दोस्रो दिन अर्थात् हरेक बैशाख २ गते मेला लाग्ने गर्दछ । यहाँ हरेक वर्ष बैशाख २ मा धुमधामसँग बिशु जाँत मनाइने गरिन्छ । डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाका हजारौें भक्तजन दशैं जाँत भर्न घटाल थानमा पुग्ने गरेको घटाल क्षेत्र विकास समाजले जनाएको छ ।
नयाँ वर्षको दिन बेलुका चम्सालमा रहेको देउघरबाट घटाल बाबाको देउरा घटाल मन्दिरमा जाने र दोस्रो दिन दिउँसो मेला लाग्ने गरेको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले बताएका छन् । पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर दर्शनार्थीहरू घर फर्किने गरेको उनको भनाइ छ ।
घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ ।
यस्तो छ घटालको महिमा
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।
पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । बिशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए ।
उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पु¥याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ । सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् ।
बिशु जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो । हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या वर्षेनी बढन थालेको छ । त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ ।