महेन्द्रनगर ।महाकाली चारलेन पुल संचालनमा आउन समय लाग्ने भएको छ । उक्त पुल समयमा संचालनमा नआँउदा स्थानियलाई समस्या भएको छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द भएपछि स्थानियहरुलाई सास्ती भएको हो ।
चैत्र १२ गते पुलको दुवैतर्फ विंगस वाल निर्माण ९पर्खाल० को काम सुरु भएकाले आवागमन बन्द गरिएको थियो । नयाँ वर्षमा काम सकेर संचालन गरिने बताईए पनि पुल संचालन हुनेमा फेरी समय लाग्ने देखिएको छ । अहिले ठूलासाना सवारीसाधन र पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइए पछि अहिले किसान कुखुरा व्यापारी, बिरामीहरुलाई बढी समस्या भएको छ ।
पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले २० दिनका लागि पुल बन्द गरिए पनि पुलमा काम सम्पन्न नभएकाले फेरी केही दिन भित्रमा पुल संचालनमा आउने बताए । ‘दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले बाटो ब्लक भएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘नयाँ वर्षमा खोल्ने गरी धमाधम काम भइरहेको थियो अहिले फेरी केही दिन लाग्न सक्ने छ ।’
यता, दोधारा चादनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले आफुले पटक पटक समयमै पुल को काम सकेर आउजाउ सहज बनाउन आग्रह गरेको बताए । यो राष्ट्रीय गौरवको योजना भएकाले यसको गुणस्तरमा पनि ध्यान दिनु पर्ने र साथै समयमा पनि सम्पन्न गर्नुपर्ने बाध्यता देखिएको अवस्थामा दुबै कुरालाई मिलाएर लग्न आग्रह गरिएको बताए । स्थानिय तथा समाजसेवी अमिर तिरुवाले अहिले महाकाली पक्की पुल बन्द भएपछि सबै भन्दा बढी कुखुरा पालक किसान तथा बिरामीहरुलाई सास्ती भएको बताएका छन् ।
अहिले कुखुरा पालक किसानहरुले आफनो कुखुराहरुलाई महेन्द्रनगर लगायतको क्षेत्रमा बेच्न नपाउँदा समस्या भएको उनले बताए । कुखुराको दाना ढुवानीदेखि कुखुरा महेन्द्रनगरसम्म पु¥याउन निकै समस्या भएको छ । तरकारी ढुवानीमा समेत अप्ठेरो भएको छ । ‘साथै बिरामीहरुलाई एम्बुलेन्स मार्फत बाहिर लैजान पनि समस्या भएको छ’ ।
उनले भने, ‘बिरामी भयो भने एम्बुलेन्स आउँदैन अथवा जना पाउँदैन अनि अटोमा हालेर झोलुङे पुलबाट जोखिम मोलेर भएपनि लैजानु पर्ने भएको छ ।’ साना सवारीसाधन र पैदल यात्रुले झोलुंगे पुल भएर यात्रा गरिरहेका छन् । पुल निर्माणको काम चलिरहेकै बेला झन्डै दुई वर्षअघि निर्माण कम्पनीले डाइभर्सन बनाएर महाकालीपारिको दोधारा चाँदनीका बासिन्दालाई आउजाउ गर्न सहज गरिएको थियो । अहिले पर्खाल निर्माणसँगै पुलको दुवैतर्फ बन्ने पोखरीको काम चलिरहेको छ ।