महेन्द्रनगर । कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा आएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दलाई शुक्रवार बाघले आक्रमण गरी जंगलमा लगेको थियो । उनको शव २२ घन्टापछि फेला परेको छ । शनिवार उनको शव खप्टी नालाको दलदलमा फेला परेको हो । शव परिक्षणका लागि श्रीपुर प्रथामिक केन्द्र बेलौरीमा पठाइएको प्रहरीले जनाएको छ । महिलालाई आक्रमण गर्ने नरभक्षी बाघ शनिबार बिहान ८ बजे सुरक्षाकर्मीको नियन्त्रणमा आईसकेको छ ।
विषेश सुरक्षा टोली सहित रातभर चार हात्ती लगाएर खोज तलासमा लागेको थियो । प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले जानकारी दिनु भयो । बाघलाई इन्जेक्सनले लठ्याएर बेहोस पारिएको छ । उक्त बाघलाई नियन्त्रणमा लिइ शुक्लाफाटा पठाइएको कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
शुक्रबार बिहान बेलौरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्द बाघको आक्रमणमा परेकि थिईन । नजिकैको खप्टि नालामा घाँस काट्न गएकी महिलालाई आक्रमण गरेपछि स्थानीय सहित सुरक्षाकर्मी दिनभर खोजतलासमा खटिएका थिए । आज बिहान डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिईएको हो । बाघलाई नियन्त्रणमा लिन र बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली रातीको करिब ९ बजे खप्टिनालामा छिरेका थिए ।
उक्त बाघले विगतका दिनमा पनि गाँउलेहरुलाई आक्रमण गर्दै आएको थियो । गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।
पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । अहिले पर्याप्त मात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ ।
Comments are closed.