कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकद्धारा महाकाली करिडोरको अनुगमन

महेन्द्रनगर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोर अन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्ने कामलाई तिव्रता दिन आग्रह गरेका छन् । आईतवार उक्त क्षेत्रमा गएर नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकको टोलीले अनुगमन गरेकोे हो ।

उक्त टोलीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य, बेलबहादुर राना, मधु भारती, जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नगर उपप्रमुख निलम लेखक जोशी पत्रकारहरुको टोलीले महाकाली करिडोर अन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्ने कामको अनुगमन गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखकले यो दशैमा आफु लगायत अन्य स्थानियहरुले उक्त बाटो प्रयोग गरेर डडेल्धुराको जोगबुढा जाने समेत बताएका छन् ।

उनले निर्माण कम्पनीका प्रमुख र आयोजनाका ईन्जिनियरलाई यो असोज महिना भित्र ११ किलोमिटरमा रुख कटान र ट्रयाक खोल्ने काम सम्पन्न गर्ने गरी कार्य गर्न आग्रह गरेका हुन् । ‘सरकारले रुख कटान र ट्रयाक खोल्ने निर्णय गरिसकेको छ’ उनले भने, ‘अबको ५ वर्ष भित्रमा कालोपत्रे सहितको सडक निर्माण गर्ने आफनो लक्ष्य रहेको छ’ । यो सडक नेपालका लागी रणनितिक सडक रहेको बताए ।

मानसरोवर जानका लागि पनि अति छोटो रहेको र भारतको राजधानी दिल्लीबाट मात्रै मानसरोवर पुग्न ७ सय ७० किलोमिटर दुरी रहेको र कञ्चनपुरको दोधारचादनीको महाकाली पुलबाट मात्रै ४ सय ४० किलोमिटरमा मानसरोवर पुग्ने भएकाले यो महाकाली करिडोरको सडक समय भित्रै रुख कटान र ट्रयाक खोल्ने काम हुनु पर्ने बताए । यता निर्माण कम्पनी दिवा÷सनीदेव जेभीका सञ्चालक देवीदत्त भट्टले थप जेसिबी मेसिन ल्याएर भएपनि असोज भित्रै ११ किलोमिटरको दुरीलाई सम्पन्न गर्ने गरी काम गर्ने बताए ।

भीमदत्त नगरपालिका–९ ब्रम्हदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा १५ सय ३२ रूख र चार सय १९ पोल साइजका साना रूख पर्ने महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । रूख र पोल साइजका गरी १ हजार ९ सय ५१ रूख कटान गरिनु पर्ने उनले बताए । बिहीबारदेखी उक्त क्षेत्रमा जेसिबीलगायत मेसिन प्रयोग गरी ट्रयाक खोल्न थालिएको छ । रुख कटान र छपान पनि भइरहेको छ । सव–डिभिजन वन कार्यालय ब्रम्हदेवले सडक क्षेत्रमा पर्ने रुखमा टाँचा लगाउने काम गरिरहेको छ ।

स्थानिय रमेश थापामगरले ट्रयाक खुलेमा छिट्टै डडेल्धुराको जोगबुढासम्म सवारीसाधन गुडाउन मिल्ने भएपछि खुशी व्यक्त गरेका छन् । करिडोर अन्तर्गत महाकाली तीरै तीर कञ्चनपुरको ब्रम्हदेवदेखि दार्चुलाको छाङरु–तिंकरसम्म सडक बन्नेछ । ब्रम्हदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ । तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.