दोधारा चादनीमा सशस्त्रमाथि आक्रमण गर्ने २ जना पक्राउ

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्रमाथि आक्रमण गर्ने २ जनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको थियो । उक्त गिरोहका दुई जनालाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय जय बैच र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिएका छन् । उनका अनुसार खुकुरी प्रहार गर्ने रोहन बैच भने फरार रहेको र उनको खोजी कार्य भईरहेको बताए । उनी भारततर्फ फरार भएको आशंका गरिएको छ । शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए । ती युवा एक आपसमै झगडा गरिरहेका थिए ।

अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो । उनका अनुसार खुकुरी प्रहार हुँदा १०÷१२ जनाको समुह थियो । विवाद बढदै जादा बैचले सई चैंसिरमाथि खुकुरी प्रहार गरेका थिए । उनको बायाँ पाखुरामा सामान्य चोट लागेको छ । घटनापछि सबै युवा फरार भएकोमा दुई जना शनिवार दिउँसो पक्राउ परेका हुन ।

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रिने सरसमान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउन थालेपछि यस्तो काम गर्नेहरु नगरपालिका र जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए।उनीहरुले ब्यवहारिक रुपमा घरायसी सरसमान ल्याउन पाउनुपर्ने माग गरेका थिए। तर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले घरायसी सामानको नाममा तस्करी हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। त्यसयता तस्करीमा संलग्न युवा र सशस्त्र प्रहरीबीच वादविवाद हुँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.