महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दु सात पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको छ । मर्मतसम्भार नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको हो । सडकका बीचबीचमा ठूलाठूला खाल्टाखुल्टी परेका छन् ।
खाल्टाखुल्टीका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको साथै दुर्घटनाको जोखिम पनि बढेको डडेल्धुरा–अत्तरियामा माईक्रो चालक सुरेश थापाले बताए । भिमदत्त राजमार्गको गैरादेखि डडेल्धुरासम्मका सडकमा बीचबीचमा खाल्टाखुल्टी हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम तथा दुर्घटनाको जोखिम बढेको उनले बताए ।
“पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्रे उप्किएका छन्” उनले भने, “ राजमार्गका बीच–बीचमा सयौँ खाल्टाखुल्टी परेका छन् सबैभन्दा बढी वर्षातको समयमा पहिरो जाने सडकमा पानी जम्ने र कालोपत्रे उप्किने भएर अहिले सडकको दुरावस्था भएको हो” सुदूरपश्चिमका पहाडी ७ वटा जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।
पछिल्लो समयमा सयौको संख्यामा सवारी साधन उक्त राजमार्गमा संचालनमा रहेका छन् । भिमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारको अटेरीका कारण सडकको मर्मत हुन नसकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।
केही समययतादेखि यो सडकमा ठूला यातायातका सवारी साधन क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने दुई हजारभन्दा बढी यातायातका सवारी साधन सञ्चालन हुने गरेका छन् । हिउँदेयाममा मङ्सिरदेखि चैतसम्म यस राजमार्गामा भारी हिमापत हुने र वर्षायाम हिलाम्य हुने र चिप्लो सडकमा दुर्घटनाको जोखिम हुँदा पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको चालकहरुले बताएका छन् ।
यता, सडक डिभिजन कार्यालय डोटीका सुचना अधिकारी रमाचन्द्र जैशीले खाल्टाखुल्टी परेका सडकमा मर्मत सम्भारको काम भईरहेको बताए । कतिपय ठाँउमा ठेकेदारको लापरवाहीले गर्दा काममा ढिलाई भएको र आफुहरुले तोकता गरिरहेको उनले बताए ।