डडेल्धुरामा सागर ढकालले आठ महिनादेखि कोठा भाडा दिएनन्

महेन्द्रनगर । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् ।

कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ । ‘महिनाको तीन हजारका दरले भाडा हो । सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो । असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ ।’भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन् ।

ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए । ‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो । तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु । दाइ १७र१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ ।’ गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

सम्बन्धित

Comments are closed.