बेदकोट नगरपालिकाका दुई वडामा मेलमिलाप केन्द्र गठन

महेन्द्रनगर । वेदकोट नगरपालिकाका दुई वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । वडा नम्बर ७ र ८ मा मेलमिलाप केन्द्र गठन गरिएको हो । वडा नम्बर ७ मा वडाध्यक्ष थानेश्वर प्रसाद भट्ट तथा वडा नम्बर ०८ मा वडाध्यक्ष महेश राज जोशीको अध्यक्षता र नगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समितिकि संयोजक तुलसी जोशीको प्रमुख आतिथ्यतामा दुबै वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ ।

यस्तै उक्त कार्यक्रमा बोल्दै उप–प्रमुख तुलसी जोशीले विवाद समाधान गर्ने विभिन्न उपायहरू मध्येको उत्तम उपाय मेलमिलाप भएको बताइन् । विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा पक्षहरुले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्धाको निरुपण गर्नु पर्ने बताईन् ।

“मेलमिलापकर्ता” भन्नाले पक्षहरु बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गरी स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न सहयोग हुने उपप्रमुख जोशीको भनाई रहेको थियो । मेलमिलाप केन्द्रहरुको प्रभावकारी तवरले सञ्चालन तथा व्यवस्थापन गर्नमा आफुले सक्दो सहयोग गर्ने जिकिर गरीन ।

साथै सहमती हुन नसकेको विषय कानुन बमोजिम सम्बन्धित कार्यालयमा पठाउने, सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्ने गराउने तथा पक्षहरुको आपसी सम्बन्धबारे जानकारी लिन पनि स्थानीय वासिन्दालाई मेलमिलाप सेवा प्रयोग गर्न अभिप्रेरित गर्ने । मेलमिलापकर्ताको क्षमता अभिबृद्धिसम्बन्धी आवश्यक कार्यहरु गर्ने मेलमिलाप सेवाको प्रचार प्रसार गर्ने ।

मेलमिलापसँग सम्बन्धित निकायबाट तोकिएका अन्य कामहरु गर्ने । विवादमा निर्णय नदिने र आफूलाई निर्णयकर्ता नभई विवाद समाधान प्रकृयाको सहजकर्ता सम्झने र छलफल वार्ता संवादबाट विवादसमाधानका लागि सहजीकरण गर्न पनि आग्रह गरिन । कुनै पक्षलाई जात, जाति, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय र राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी निष्पक्ष र तटस्थ रहने र मानव अधिकार संरक्षण र सामाजिक न्यायको बिषयमा संवेदनशील भई कार्य गर्न आग्रह गरिन ।

कुनै कानूनी जटिलता आएमा स्थानीय तहको सहयोगमा बिशेषज्ञसंग परामर्श लिएर मात्र कानूनसम्मत रुपमा पक्षहरु बीच सहमति गराउन उपप्रमुख जोशीले बताईन् । उक्त कार्यक्रममा वडाअध्यक्ष, न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता लगायत जप्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.