कञ्चनपुरको महाकाली नदीमा विपद् व्यवस्थापन नमूना अभ्यास सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा विपद् व्यवस्थापन नमूना अभ्यास सम्पन्न भएको छ । कञ्चनपुरको महाकाली नदीमा शुक्रवार बिहान नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको अगुवाइमा जिल्लाका तीन सुरक्षा निकाय, एन.एन.एस. डब्लु. ए, निड्स नेपाल, नेपाल रेडक्रस, अक्सफाम लगायतका गैर सरकारी संस्थाहरुको सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेका हुन् ।

विपदमा हुन सक्ने क्षतीलाई कम गर्नका लागि महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीको समेत सहभागितामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । भीमदत्त नगरपालिका–१२ हरिहरघाट नजिक नमूना अभ्यास गरेका हुन् । सो अवसरमा जिल्लामा हुने विपद अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको पूर्वतयारी, उद्धार सामग्री, बाढीबाट बच्ने उपाय र गरिने उद्धारका विषयमा नमूना अभ्यासमार्फत जानकारी गराइएको थियो ।

कञ्चनपुरमा विगत वर्षहरुदेखि नै महाकाली नदी, दोदा, चौधर नदीलगायतका नदीमा आउने बाढीका कारण स्थानीयवासी प्रभावित हुने गरेको विषयलाई मध्यनजर गर्दै बर्षातको पूर्वसन्ध्यामा नमूना अभ्यास गरिएको श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले जानकारी दिए ।

उनले विपद्को आकस्मिक अवस्थामा सुरक्षाकर्मीबाट हुने उद्धार तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने उद्देश्यसहित नमूना अभ्यास गरिएको जानकारी दिए । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विपद् व्यवस्थापनमा सुरक्षा निकायको ठूलो भूमिका रहने बताए ।

विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगै समूदायको पनि भूमिका आवस्यक रहने र यसका लागि क्षमता परीक्षण सिप सिक्नुपर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.