राप्रपा कञ्चनपुरद्धारा आन्दोलन स्थगित

महेन्द्रनगर । आफ्ना कार्यकर्ता जयकिशन बोहरालाई रिहा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले बजार बन्दलगायत आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आफ्ना कार्यकर्ता जयकिशन बोहरालाई प्रहरीले पक्राउ गरेको विरोधमा राप्रपाले सोमबार पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा अवरोध सृजना गरेको थियो । राप्रपाले मंगलवार महेन्द्रनगर बन्दको आयोजना गरेको थियो ।

तर, प्रशासनले हिजै बोहरालाई निसर्त रिहा गरेकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको राप्रपाका अध्यक्ष गजेन्द्र चन्दले जानकारी दिएका छन् । बोहरालाई राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा प्रहरीले २१ गते दिउसो दोस्रो पटक पक्राउ गरेको थियो ।

गत बिहीबार पनि प्रहरीले बोहरा र राप्रपा भीमदत्त नगर सचिव किसन चन्दलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले कागज गराएर छोडेको थियो । फेरि बोहरा मात्र पक्राउ परेका थिए ।

राप्रपा कञ्चनपुरले सरकारका राष्ट्रघाती कामकाविरुद्ध गरिएका कार्यक्रम अन्तर्गत विभिन्न बहानामा आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सम्बन्धित

Comments are closed.