गर्मी बढेसँगै महाकाली प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्यो

महेन्द्रनगर । पछिल्ला केही दिनबाट कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि बिरामी हुनेको संख्यामा पनि वृद्धि भएको पाईएको छ । महाकाली प्रादेशिक अस्पतालमा अहिले बिरामीको चाप पनि बढेको पाईएको हो । अहिले गर्मीमा देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले अहिले गर्मीका कारण बिभिन्न स्वास्थ्य समस्या लिएर आउनेको संख्या बढेको बताए । अहिले अस्पतालमा ज्वरो, पखाला, टाउको दुख्ने, र बिद्यालयबाट बिधार्थीहरु पनि आउने गरेको उनले बताए । तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन डाक्टर भट्टले सुझाव दिएका छन् ।

साथै नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत उनले आग्रह गरे । तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ । अहिले सुदूरपश्चिमका २ तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ । कञ्चनपुर र कैलालीमा अहिले गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ ।

शुक्रवार कञ्चनपुरकोे तापक्रम ३९ डिग्री पुगेको छ । शनिवार तापक्रम बढेर ४० डिग्री पुग्ने अनुमान हावा पानी फिल्ड कार्यालय, अत्तरियाले गरेको छ । सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ । आगामी सोमवारसम्म ४० डिग्री तापक्रम रहने भएको छ । यी दुई जिल्लाको लागि विरल घटना हो । आगामी बिहीवारबाट यी दुई जिल्लामा तापक्रम घट्ने प्रक्षेपण छ । बिहीवारबाट भने यी दुई जिल्लामा आंशिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार मध्यान्ह दुबै जिल्लाको तापक्रम ४० डिग्री नाघेको हो । शनिवारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ ।शनिवार कञ्चनपुरको तापक्रम ४१ र कैलालीको ४२ डिग्री पुग्ने छ भने आइतवार दुबै जिल्लाको तापक्रम ४२ डिग्री सेन्टिग्रेड रहनेछ ।

सोमवार यी जिल्लामा तापक्रम एक डिग्रीले घटेर ४१ डिग्रीमा झर्ने छ भने मंगलवार ४० डिग्री अनुमान गरिएको छ । यसरी बढदै गईरहेको गर्मीका कारण बिद्यालयहरु पनि बिहान १० बजेसम्म मात्रै संचालन गर्न जिल्ला समन्वय समितीले सुचना जारी गरेको छ ।

सम्बन्धित

Comments are closed.