गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा परराष्ट्रमन्त्री देखी प्रदेश मुख्यमन्त्रीको भनाई यस्तो छ
महेन्द्रनगर । सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए ।
गृह जिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन् । प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न पुगेका थिए । साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीका अनुसार प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिवद्ध रहेको परराष्टमन्त्री एनपी सावदले जिकिर गरेको उनले बताए ।
क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए थिए । ‘क्याविनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।
’ भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रष्ठिान नभइ विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए । यता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकास गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य विश्वविद्यालय स्थापानाका लागि नेपाल सरकार संग विशेष अनुरोध गर्दै आम सुदूरपश्चिमवासी नागरिकको माग, चाहना र आवश्यकता पुरा गर्न गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।मुख्यमन्त्रीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिंगो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रुपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना भएको उल्लेख गरिएको छ ।
‘हाम्रा माग र चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको पनि हामी सबैलाई स्मरण नै छ । यसै बीच नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालु अधिवेसनमा नै प्रस्तु गर्ने भनी उल्लेख भएकोमा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेको प्रति सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
Comments are closed.