महेन्द्रनगर । भारतको गुजरातस्थित सौराष्ट्रमा उत्पन्न भएको समुन्द्री आँधी ९चक्रवात बिपरजोय०ले पैदा गरेको पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मनसुन प्रवेश गर्न सकिरहेको छैन। कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशमा अझै मनसुन प्रवेश गरेको छैन।
तराईका जिल्लामा केहीँ दिन तातो हावा लूसँगै उखरमाउलो गर्मी हुने सम्भावना रहेको छ। पश्चिमी वायुका कारण निर्धारितभन्दा एक दिन ढिलो ३१ जेठमा प्रवेश गरेको मनसुन आइतबारसम्म सुदूरपश्चिमसम्म फैलने पूर्वानुमान नमिल्ने देखिएको छ। पश्चिमबाट पूर्वतर्फ चल्ने वायुले मनसुनलाई पश्चिमतर्फ बढ्न नदिइरहेको मौसम वैज्ञानिकहरुले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवात बिपरजोयकै कारण आज सुदूरपश्चिमको आकाशमा बादल देखिएको हो। मौसमविद् गोविन्द झाका अनुसार अझै दुई–तीन दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि बादल र वर्षा सुरु हुने सम्भावना छैन।
यसैकारण २ हप्ताभन्दा बढी समयदेखि लुम्बिनी र सुदूरपश्चिमका तराईका क्षेत्रमा जारी उखरमाउलो गर्मी अझै लम्बिने देखिएको उनले बताए। आज सुदूरपश्चिमको तराईमा भने भारतको गुजरातस्थित सौराष्ट्रमा रहेको चक्रवात बिपरजोय र पश्चिमी वायुको प्रभावले अलिअलि आकाशमा बादलको सम्भावना देखिएको उनले बताए। ‘तर यो तापक्रम नै घटाउने गरी हुने देखिँदैन,’ उनले भने।
कोशीदेखि गण्डकीसम्म चारवटा प्रदेशमा गत बुधबार जेठ ३१ गते नै प्रवेश गरेको मनसुन ९वर्षा गराउने मौसमी प्रणाली० त्यसभन्दा अघि पश्चिम बढ्न नसकेको हो। जसका कारण मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत् रहेको छ।
Comments are closed.