महेन्द्रनगर । पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाई सकिए पछि वेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ । छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका घोषणा गरिएको हो ।
आईतबार जिल्ला नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम जिल्ला समन्बय समिति प्रमुख दुर्गा दत्त बोहरा को प्रमुख अतिथीमा तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराकोे सभापतित्वमा कार्यक्रम गरिको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा नगर उप–प्रमुख तुलसी जोशी , जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुखहरु लगायत स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवंम जिल्ला समन्वय समिति प्रमुख बोहराले नगर प्रमुख र उपप्रमुखलाई प्रमाण पत्र प्रदान गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । यहाँ हाल १६ वटा खोप केन्द्रबाट प्रत्येक महिनाको २ गते देखी १२ गते सम्म खोप सेवा प्रबाह हुदै आएको पालिकाको स्वास्थ्य शाखा प्रमुख हरिषा पालले जानकारी दिईन् ।
उनका अनुसार २०७९ माघ देखि चैत महिना सम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखी ५९ महिना सम्मका बालवालिका मध्ये ५ जना शुन्य डोज, ६९ जना ड्रप आउट भेटिएको उनले बताईन् । खोप लगाउन छुटेका सबै बालवालिका लाई वैशाख महिना सम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप लगाई वैशाख महिनालाई खोप महिनाका रुपमा मनाईएको उनले बताए ।
यस अघि यहाँका १० वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । कुनैपनी बालबालीका खोपवाट नछुटुन भन्नका लागि वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा, पालिकास्तरमा पालिका प्रमुख तथा अध्यक्ष, जिल्लास्तरमा समन्वय समिति प्रमुख र प्रदेशस्तरमा मुख्यमन्त्रीको संयोजकत्वमा पूर्ण खोप समिति हुने गर्छ ।