महेन्द्रनगर । कञ्चनपुरमा फरक नामबाट दुई नागरिकता लिनेलाई प्रहरीले पक्राउ गरेको छ। पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो।
नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ। सुरूमा २०६३ मा उनले नागरिकता लिएकी थिइन्। फेरि २०६७ मा दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबरजस्ती फरक विवरण राखेर नयाँ नागरिकता बनाइदिएको बुझिएको छ। गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमती भित्र्याई उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएको खुलेको छ।
एक मान्छेका नाममा २ नागरिकता लिएको विषयमा वैशाख २८ गते कञ्चनपुरमा मुद्दा दर्ता भएपछि कञ्चनपुर झिकाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।
Comments are closed.