महेन्द्रनगर । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यालय कञ्चनपुरमा खुल्ने भएको छ । पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका (नेपाल र भारत) कार्यकारी समितिका सदस्यलाई प्राधिकरणको प्रमुख कार्यालय महेन्द्रनगरमा एक महिनाभित्र खटाउने सहमति भएको हो ।
पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को पोखरामा शुक्रबार सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । साथै, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन पनि नेपाल–भारतबीच सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर टुंगो लगाउने दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको थियो । उक्त सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न दुई देशका सचिवको सह–अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गरेको हो । आयोजनाको डीपीआरलाई तीन महिनाभित्र अन्तिम रूप दिन एवं उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउ पु¥याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्स÷अफिसियल) को म्याद ६ महिना थप गर्ने समेत सहमति भएको छ ।
सहमतिबमोजिम विज्ञ समूहको चौथौ बैठक आगामी १० दिनभित्र हुनेछ । सचिव घिमिरेका अनुसार विज्ञ टोलीको म्याद सकिइसकेको भए पनि ६ महिनाको कार्यादेश दिएर तीन महिनाभित्र डीपीआर टुंगो लगाउने गरी सहमति भएको हो ।यसअघि नेपाल र भारतबाट १५÷१५ जनाको विज्ञ टोली थियो ।
अब भने १०÷१० जना रहने छन् । उक्त सहमतिसँगै लामो समयदेखि रोकिएको पञ्चेश्वर आयोजनाको काम अब क्रमिक रूपमा सुरु भएको सचिव घिमिरेले बताए ।
Comments are closed.