कैलालीमा २७ आगलागी पीडितले पाए नयाँ घर

महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिका–७ का २७ आगलागीपीडित मुक्तकमैयाका परिवार नयाँ घर पाएपछि खुसी भएका छन् । गत वर्ष वैशाख ११ मा कैलारी गाउँपालिका–७ विपतपुरमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएपछि मुक्तकमैयाहरु एक वर्षदेखि अलपत्र तथा झुपडीमा बस्दै आएका थिए।नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे हावा चलेका वेला बस्तीमा सल्केको थियो ।

घरसहित लुगाकपडा र बालबालिकाका कापी–किताब समेत जोगाउन नपाएको आगलागीपीडित तेजराम चौधरीले बताए । उनले घर जलेर खरानी भएपछि दुई महिना खेतमा टेन्ट लगाएर बस्यौँ । बर्खामा डुबान हुने भएकाले खेतमा बस्न सम्भव थिएन । जलेकै घरमाथि छाप्रा बनाएर बसेको उनले बताए । अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर बनाइदिएका छन्।

मुक्तकमैया बस्तीमा आगलागीपीडितका लागि दुईवटा कोठा र एउटा भान्सा भएको र टिनले छाएका २७ वटा पक्की घर निर्माण गरिएका छन्। यस्तै कैलारी गाउँपालिका– ७, विपतपुरका राजकुमार चौधरी पक्की घर निर्माणको काम हालै सम्पन्न भएपछि नयाँ घरमा सरिसकेका छन् । एक वर्षदेखि पाँचजनाको परिवारसहित कच्ची झुप्रोमा बसिरहेका उनी नयाँ पक्की घर पाएपछि खुसी देखीन्छन् ।

सुरुमादुई महिनासम्म खेतमा त्रिपाल टाँगेर बसेका उनले बर्खामा त्रिपालमै बस्न सम्भव मानेनन् ।त्यसपछि नयाँ घर बनाउन पैसा नभएपछि आगलागीले जलेको टिनले छाएर उनले पुरानै घरको छेउमा झुप्रो बनाएका थिए । नयाँ घरमा बस्न पाएपछि निकै सहज भएको र अब बर्खामा सर्प–किराको डर नहुने बताए । यस्तै आगलागी पीडित बेलमती चौधरीले झुपडीको समस्या हटे पनि ठूलो परिवार भएकाका लागि दुईकोठे घर अपुग हुने बताइन् ।

कैलारी गाउँपालिकाले २७ आगलागीपीडित मुक्तकमैया परिवारका लागि एक करोड ८२ लाख १२ हजार लागतमा नयाँ पक्की घर निर्माण गरिएको जनाएको छ ।प्रदेश सरकारको ९० लाख र ह्याबिटेट फर ह्युमानिटी नेपाल नामक गैरसरकारी संस्थाकोे ५४ लाख लगानी र घर निर्माणमा लाभग्राही परिवारले ३८ लाख १२ हजार बराबरको श्रमदान गरेका थिए

सम्बन्धित

Comments are closed.