महेन्द्रनगर । बैतडीमा भएको बस दुर्घटनामा परेका मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ भने, ६ जनालाई थप उपचारका लागी धनगढी रेफर गरिएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–७ सुवाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ । मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, संगीता रावत, दिपीका भट्ट , विसन भट्ट र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले जानकारी दिए । बाँकी घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए । तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको छ । दुर्घटनामा पञ्चेश्वर गाँउपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो । पञ्चेश्वर गाँउपालिका–३ कुलाउँबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस सोमवार दिउँसो १ बजे दुर्घटनामा परेको थियो ।
सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ । ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्लाफाँटा खबर
5678 posts
Comments are closed.