धौलीगंगा बाँध खोल्दा दार्चुलामा कटान सुरू

महेन्द्रनगर । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ । महाकालीले नेपाल–भारतका तटीय क्षेत्रमा बिहानैबाट कटान सुरु गरेपछि स्थानीयहरु आत्तिएका छन् ।
२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि नदी तटीय क्षेत्रमा कटान सुरु भएको हो । बिहान ५ बजेबाट बाँधका ढोकाहरु खोलिएका छन् ।
दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले बताए । स्थानीयका अनुसार महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको छ । खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए । त्यस्तै, लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ ।
लास्कु खोला पारिपट्टी भारततर्फको खोतिला बस्तीमा कटान गरिरहेको छ । जिल्ला क्षेत्रहरुमा पनि नदीमा बहाब बढ्दा कटान गर्न थालेको छ । तटबन्ध निर्माण नभएको क्षेत्रमा कटान गरिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित

Comments are closed.