महेन्द्रनगर । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति गरेको हो ।
यसअघि बिहान ७ बजे मात्रै खुल्ने झुलाघाट नाका अब बिहान ६ बजे खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।बैठकले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एकघण्टा अघि खोल्ने सहमति भएको छ । उनले भने, ‘बैठकमा सहमति भए अनुसार झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ सात बजे बन्द हुनेछ ।
यसले दुबै देशका नागरिकलाई सहज हुनेछ ।’यसअघि बिहान सात बजे नाका खुल्ला पिथौरागढ जाने नागरिकले झुलाघाटबाट बसमा यात्रा गर्न समस्या हुने गरेको गुनासो आएपछि यस्तो सहमति गरिएको हो ।झुलाघाटबाट सात बजे बस छुट्ने र उक्त बसको यात्रा गर्न अब नेपाली नागरिकलाई सहज हुने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
उनले भने, ‘झुलाघाटबाट बिहान सात बजे बस छुट्ने, सात बजे नै नाका खुल्दा यसअघि नेपाली नागरिकलाई समस्या हुने गरेकोमा अब एक घण्टा पहिला छ बजे नै नाका खुल्ला सहजै बसको यात्रा गर्न सकिनेछ ।’
Comments are closed.