महेन्द्रनगर । सुदूरपश्चिममा नेकपा एमालेका सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्। शनिबार नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १ क अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।
सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि १९ करोड विनियोजन गरेकाले कटौती गर्न माग गरिएको छ । प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गरेको पनि एमालेले प्रस्तावमा उल्लेख गरेको छ।
एमालेले मन्त्रालयहरुको भवन निर्माणमा बजेट विनियोजन गर्दा अख्तियारको दुरुपयोग समेत गरिएको बताएको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयका भवनहरू विकास तथा व्यवस्थित गर्ने कार्यका लागि समानीकण अनुदानको १९ करोड रकम कटौती गर्न प्रस्ताव पेश गरिएको जानकारी दिए।
प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गरिसक्दा पनि प्रदेश सरकारले अख्तियारीको दुरुपयोग गर्दै मन्त्रालयका भवनहरू विकास तथा व्यवस्थित गर्ने कार्यका लागि ठुलो बजेट विनियोजन गरेको एमालेको आरोप छ।
एमाले संसदीय दलका नेता रावलले उक्त कार्यको विरोध स्वरूप आफूहरूले खर्च कटौती प्रस्ताव पेश गरिएको बताए। यस्तै प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतिको नीतिगत असमझदारी भएको बताए। प्रदेश सरकारले असार १ मा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो ।
तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन। बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष ९प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम० तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएको छ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दलका नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको एक सांसदले बताए। त्यस्तै अनावश्यक योजना समेत हटाउने सत्तारुढ गठबन्धनमा सहमति छ। उक्त सहमतिबारे सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो संसदीय दलमा छलफल गरिरहेका छन्।
Comments are closed.