कञ्चनपुरमा २३ औँ कमैया मुक्ती दिवस मनाईयो 

महेन्द्रनगर । कञ्चनपुरमा २३ औँ कमैया मुक्ती दिवस मनाईएको छ । मंगलवार जिल्लाका बिभिन्न क्षेत्रमा धुमधामका साथ उक्त कार्यक्रम मनाईएको हो । शुक्लाफाँटा नगरपालिकाको वडा नम्वर ८ र ९ मा भव्यताका साथमा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सभाध्यक्षमा बडघर रामबहादुर चौधरी, प्रमुख अतिथीमा प्रदेश सभा सदस्य गिता चौधरी, बिशिष्ट अतिथीमा शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महरा, उप्रमुख कल्पना पन्त रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी एवम प्रदेश सभा सदस्य गिता चौधरीले कमैया मुक्ती भएको २३ वर्ष पुग्दा समेत कैलाली कञ्चनपुरसहित तराईका ४ जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुन नसकेको बताईन् ।

सबै कमैया बस्तीमा नापी गराएर सेतो पूर्जालाई रातोमा परिणत गर्न आफुले पहल गर्ने बताईन् । मुक्त कमैया पुनःस्थापनाको पर्खाईमा रहेका उनीहरुको समस्या अहिले पनी जस्ताको त्यस्तै रहेको जिकिर गरिन् । नगर प्रमुख रणबहादुर महराले कमैयाहरुलाई पुनःस्थापना गर्न उनिहरुको हक अधिकारका लागि आफुले सदैव साथ र सहयोग दिने बताए । साथै उनले उनिहरुलाई स्वरोजगारसंग जोडने र आर्थिक उपार्जनगर्ने खालका सिप मुलक योजना बनाएर तालिम प्रदान गर्ने बताए ।

 

भूमिहीन भएका थारुहरुको जमिनदारको घरमा गएर ऋण लिन बाध्य हुने र ऋण तिर्ने कुनै माध्यम नभएपछि ऋणवापत घरमा काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको थियो । जमीनदारको घरमा बँधुवा मजदूरका रूपमा काम गर्ने कमैयाहरूलाई २०५७ साउन २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले मुक्त भएको घोषणा गरेको थियो ।

मुक्त कमैया समाजका अनुसार कैलालीमा ९ सय ५३, कञ्चनपुरमा १ सय २९, बर्दियामा १ हजार दुई सय ४५ र दाङमा ४८ गरी जम्मा २ हजार तीन सय ७५ मुक्त कमैयाको पुनःस्थापना गर्न बाँकी छ । समाजका अनुसार ५ जिल्लामा कुल २७ हजार पाँच सय ७१ परिवार मुक्त कमैया रहेका थिए । जसमध्ये २५ हजार एक सय ९५ परिवारले जग्गा पाइसकेका छन् । जमिन्दारको घरमा बँधुवा मजदुरका रुपमा काम गर्दै आएकाहरुलाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।

शुद्ध रुपमा जग्गा नपाएको तीन ८०, सट्टा भर्ना गर्नु पर्ने चार सय र २०५८ सालमा परिचयपत्र पाएर पनि बदर भएको एक सय ७३ परिवार गरी नौ सय ५३ जनाको अझै पुनःस्थापना गर्न बाँकी रहेको तथ्यांक छ । कञ्चनपुरमा जग्गा पाउनु पर्ने चार हजार चार सय १८ परिवार मुक्त कमैया रहेकोमा चार हजार दुई सय ८९ ले जग्गा पाइसकेका छन् । यस्तै, बर्दियामा ११ हजार पाँच सय ५१ मध्ये १० हजार तीन सय छ परिवारले जग्गा पाइसकेका छन्।

बाँकेमा एक हजार नौ सय २१ मुक्त कमैया रहेकोमा सबैको पुनःस्थापना भएको छ । यसैगरी, दाङमा सात सय पाँच मध्ये छ सय ५७ परिवारले जग्गा पाइसकेका छन् ।कैलालीमा जग्गा पाउनु पर्ने जम्मा मुक्त कमैयाको संख्या ८ हजार ९ सय ७५ रहेको छ । जसमध्ये आठ हजार २२ परिवारलाई जग्गा दिइएको छ ।

सम्बन्धित

Comments are closed.