महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा उल्लेखिय रुपमा वृद्धि भएको पाईएको छ । शनिवार १३ औँ बाघ दिवशको उपलक्ष्यमा गरिएको कार्यक्रममा अहिले आरक्षमा ३६ वटा पाटे बाघको संख्या रहेको जनाईएको छ । यसवर्षको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
अहीले जिल्लामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको राष्ट्रिय प्रकृती संरक्षण कोष शुकलाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताए । अहिले कञ्चनपुरमा बस्तीमा पसेर पाटे बाघले मानवलाई जोखिम गरेको घटना नभएको तर मानवहरु जंगलमा गएको बेलामा बाघले आक्रमण गर्ने गरेको उनले बताए । तर निकट भविश्यमा कञ्चनपुरमा पनि बाघ र मानव विचको द्धन्द्ध पनि बढने सक्ने आँकलन गरिएको छ ।
विषेश गरेर मानव वस्ती जंगलमा बढदै जानाले पनि बाघको वासस्थानमा कमी हुने र पछि गएर बाघहरुपनि मानव वस्तीमा पसेर ज्यानको पनि जोखिम बढने सम्भावना देृखिएको जानकारहरु बताउँछन । जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।
बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिने उनले बताए । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पु¥याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुने उनले बताए । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता जनाएको थियो ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ । अहिले बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् ।
मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनिरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।
Comments are closed.