धान नपाक्दै आए हात्ती, भीमदत्त नगरपालिका १५ मा धान बाली र घरमा क्षती

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ चाहना टोलमा हात्तीले धान बाली खाद्यन्न र घरमा क्षती गरेको छ । मंगलवार राती अन्दाजी १ बजेतिर हात्ती आएर ३ जनाको धान बाली, २ जनाको सानो भान्सा घरमा क्षती गरेको भीमदत्त नगरपालिका १५ का वडा सदस्य हरीप्रशाद भट्टले जानकारी दिएका छन् ।

बिहान मात्रै हात्ती आएको जानकारी पाएपछि आफु लगायत अन्य स्थानिय वडा जनप्रतिनिधीहरु उक्त क्षेत्रमा गएर अनुगमन गरेको र मानविय क्षती हुन नपाएको तर धान बाली अन्नहरु नोक्सानी गरेको उनले बताए । स्थानिय आशा थापाको धानबाली,भान्सा घर र चामल रासन नष्ट गरेको, ज्ञानेन्द्र भट्टको काठको भान्सा तोडफोड गरेको, हरिना थापाको धान बाली नष्ट गरेको उनले जानकारी दिए । रातीको समयमा पानी परिरहेको बेलामा बच्चा सहितको २ वटा हात्तीको आएको हुन सक्ने उनले बताए ।

अहिले उक्त क्षेत्रमा बिद्युत बत्तीको व्यवस्थापनका लागी पहल सुरुवात गरिएको र वडाले यो आर्थिक वर्षमा २ वटा ठाँउमा सोलार बत्तीको लागी बजेट विनियोजन गरेको वडा सदस्य भट्टले जानकारी दिएका छन् । अहिले हात्ती आउने सिजन नभएपनि हात्तीहरु कहाँबाट आए भन्ने पनि जानकारी नभएको उनले बताए ।

विगतका दिनहरुमा धान बाली पाक्न लागेको बलामा हात्तीहरु आउने गरेकोमा यो वर्ष हात्ती आउने समय चाडै भएको हो की ? भन्दै स्थानियहरु त्रसित भएका छन् । उक्त क्षेत्रमा राष्टिय प्रकृती संरक्षण कोष र शुक्लाफाँटा राष्टिय निकुञ्जबाट पनि टोली आएर अनुगमन गरेको छ ।

साथै उक्त क्षेत्रमा भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख निलम लेखक जोशीले उक्त क्षेत्रको अवलोकन गरी स्थानियहरुको सहजताका लागि सोलार बत्तीको व्यवस्था गरिने बताईन् । साथै वडाले अहिले सतर्क रहन पनि स्थानियहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित

Comments are closed.