मन्त्री सिंहको सवारी दुर्घटनाको कारण यस्तो

महेन्द्रनगर । असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना सवारी चालकको अदक्षताका कारण भएको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडि दुर्घटना भएको उल्लेख छ ।

समितिले आइतबार मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सवारी चालकमा दक्षता नभएको र सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भएको उल्लेख गरिएको छ । असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार गाडि दुर्घटना भएको थियो । सो दुर्घटनामा परि मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।

मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते छन् ।मन्त्रीको सवारी दुर्घटनाका कारण मृत्यु भएपछि असार ७ बसेको बसेको १६१ औं बैठकले खरेलको संयोजककत्वमा छानविन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको भएपनि ढिला गरि आइतबार प्रतिवेदन पेश गरेको हो ।

सो प्रतिवेदनलाई मन्त्रीपरिषद बैठक बसाई पारित भएपछिमात्र सार्वजनिक गरिन जनाइएको छ । उच्च स्तरिय छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् ।

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको सवारी साधन बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।

सम्बन्धित

Comments are closed.