कृष्णपुरमा ४ हजार बिरुवा रोपिए

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा ४ हजार बिरुवा रोपिएका छन् । कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नम्वर ५ को हरियाली सामुदायिक वन क्षेत्रमा शनिबार एक कार्यक्रमका बिच नगरप्रमुख हेमराज ओझाले बेतको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन । सामुदायिक वनको उत्तर पुर्वी भागमा २ हजार बेत र २ हजारभन्दा अधिक बाँसका बिरुवा रोपिएका हुन ।

नगरप्रमुख ओझाले कृष्णपुरका अधिकांश सामुदायिक वनसँग सहकार्य गर्दै बेत र बाँस ठुलो मात्रामा उत्पादन गरेर नगरमै उद्योग संचालनमा ल्याउने योजना रहेको बताएका छन् । उनले एकातिर वनजंगल हराभरा भए वातावरण स्वच्छ रहने र अर्कोतिर स्थानीयलाई आफ्नो सीप तथा कला मार्फत रोजगारी सृजना हुने भएकोले आफुले बेत र बाँस रोपन कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

नगरप्रमुख ओझाले वडा न ।४ को चुरे क्षेत्रतिर मह उत्पादनको पक्कड क्षेत्र भएकाले चिउरी खेती,बजारमा कागतीको असाध्यै माग हुने भएकोले विभिन्न सामुदायिक वनहरुसँग समन्वय गर्दै कागती खेती गर्ने योजना रहेको बताए । अघिल्लो वर्ष पनि हरियाली सामुदायिक वनमै झण्डै २ हजार बाँसका बिरुवा रोपिएका थिए ।
वृक्षारोपण कार्यक्रममा नगरप्रमुख ओझासहित कृष्णपुर नगरपालिका वडा नम्वर५ का अध्यक्ष टेक पाण्डे,हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा,पुर्व अध्यक्ष दिल देउवा,सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीबाट मोहनदेव पन्तको नेतृत्वमा ३० जनाको टिम र दर्जनौं संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.