महेन्द्रनगर । डडेलधुराको अमरगढी नगरपालिकाविरुद्ध स्थानीयहरू आन्दोलित भएका छन । नगरपालिका बस्ती नजिकै डम्पिङ साइड बनाएर दुर्गन्धित बनाएको भन्दै स्थानीय मालमवासी विरोधमा उत्रिएका हुन् । नारा लगाउँदै स्थानीयले बसपार्कबाट जुलुस निकालेका छन् ।
उनीहरुले नाराबाजी गर्दै नगरपालिका घेराउ समेत गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका बेला नगरप्रमुख नजिकका एकजनाले हस्तक्षेप गरेको भन्दै स्थानीय झनै आक्रोशित बनेका छन् । फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ । सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ ।
आइतबार मात्रै स्थानीय २१२ जना स्थानीयले हस्ताक्षरसहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए । ७ दिने अल्टिमेटमसहित सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका स्थानीय सोमबार नगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । नगरपालिकाले हाल पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ । सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको हो ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केही महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो । तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउँदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको स्थानीयको भनाइ छ । ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् ।
‘यो भने नेपालकै समस्या हो, रहरले नगरपालिकाले त्यता फालेको हैन । अमरगढीभित्र फोहोर फाल्ने ठाउँ नै देखिँदैन । तर त्यसको लागि पहल भइरहेको छ ।’
Comments are closed.