महेन्द्रनगर । पछिल्लो केही दिन यता सुदूरपश्चिमका २ तराईका जिल्ला कञ्चनपुर र कैलालीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर समस्या आउन सक्ने चिकित्सकको चेतावनी दिएका छन् ।
प्रदेशका अन्य जिल्लासहित देशैभर फैलिएको आँखा पाक्ने समस्या एडिनो भाइरसको संक्रमणले भएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत डाक्टर बिरसिंह धामीले जानकारी दिएका छन् । साथै चिकित्सकको सल्लाहबिना जथाभावी औषधको प्रयोग नगर्न समेत चिकित्सकले सुझाएका छन् । अहिले सुदूरपश्चिमसहित देशका अन्य भाग र छिमेकी मुलुकमा पनि आँखा पाक्ने समस्या फैलिएको छ ।
अरु वर्ष छुटपुट देखिने आँखा पाक्ने समस्या अहिले धेरै देखिएको छ । आँखा पाक्ने रोगमा आँखा रातो हुने, आँखामा चिप्रा लाग्ने, परेली सुनिने, आँखा पोल्ने, बिझाउने र असजिलो हुने लक्षण देखा पर्ने उनले बताए । परिवारमा एक जनालाई भयो भने अन्य सदस्यलाई सर्ने सम्भावना उच्च रहन्छ । अन्यलाई संक्रमण नसरोस भनेर बारम्बार साबुन पानीले हात धुने, बिरामीले प्रयोग गरेको रुमाल, सिरानी, तन्ना र अन्य कपडा प्रयोग नगर्ने र आँखामा समस्या भएको व्यक्तिले भिडभाडमा जान नहुने डाक्टर धामीले बताए ।
आँखा पाक्ने समस्या आए समयमै उपचार गर्ने र अरुलाई सर्न नदिन सावधानी अपनाउनु पर्छ पर्ने उनको भनाई छ । भाइरससँगै ब्याक्टेरियाको संक्रमण भए निको हुन समय लाग्ने भएकाले समयमै उपचार गर्नुपर्ने चिकित्सकको भनाई छ । आँखा पाक्ने समस्या भए अरुलाई नसरोस भनेर सावधानी अपनाउनुका साथै आँखाको नानीमा संक्रमण नहोस् भनेर नेत्र चिकित्सकलाई देखाएर औषधि सेवन गर्नुपर्ने सुझाव दिइएको छ ।
सात दिनभित्र संक्रमण ठिक नभए आँखा रोग विषेशज्ञलाई देखाउनुपर्ने नेत्ररोग विशेषज्ञ पन्तले बताए । आँखा पाक्ने समस्या भए हेलचक्र्याई गर्न नहुने नेत्र रोग चिकित्सकले बताएका छन् । आँखामा समस्या देखिना साथ उचित परामर्श र औषधि लिन समेत चिकित्सकको आग्रह छ ।