भिमदत्त राजमार्ग पुनः संचालन आउन कम्तिमा पनि ३ दिन लाग्ने

महेन्द्रनगर । सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकामा बिभिन्न स्थानमा गएको पहिरो खोल्ने क्रम तिब्र पारिएको छ । सडक बिभाग र सुरक्षाकर्मीहरुले बिहानैदेखि अबरोध हटाउन लागेका छन् ।

यद्दपि सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने संभावना कम रहेकोे सडक डिभिजन कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख हरि प्रशाद सुबेदीले बताएका छन् । सडक पुनः संचालन आउन कम्तिमा पनि ३ दिन लाग्न सक्ने उनले बताए । पहिरो आउने क्रम जारी रहेका कारण अबरोध हटाउने कठिनाई भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले पहिरो हटाएर यातायात सुचारु गर्न कार्य तिब्र पारिएपनि सडक नै भासिएका कारण तत्काल यातायात सुचारु गर्न कठिनाई भएको बताए ।

कैलालीको बुढीतोला, खानीडाँडामा सडक भासिनुका साथै बिभिन्न ठाँउमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा अबरुद्ध भएको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवरुद्ध भएको भीमदत्त राजमार्गसम्म अझै डोजर पुगेको छैन। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार भाँसिएको सडक क्षेत्रमा डोजर नपुगेको हो । भीमदत्त राजमार्गको भ्याँगुत्तेपानीको पहिरो मात्र डोजरले हटाएको छ।

राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सडक सम्पर्क टुटेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा सोमवार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। सोमवार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक ठाउँ–ठाउँमा चिरा परेर भासिएको छ ।

सडक भासिएकाले सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूह समेत आँउदैछ। प्राविधिकका अनुसार सडक खुलाउने काम हुने छ । तर मंगलवार सडक सुचारु हुने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अहिले पनि पहिरो खस्ने क्रम जारी छ । सडकमा रुखहरु भएकाले किरेनसमेत मगाइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुलाबाट आएका गाडी अहिले तराई आउन सकेका छैनन् । पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका साधन बाटोमै रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेका हुन् ।

सम्बन्धित

Comments are closed.