महेन्द्रनगर । डडेल्धुराका युवा व्यवसायी श्याम सिनाल सम्मानित भएका छन् । अमरगढी नगरपालिका ५ का स्थानिय सिनाल विगत लामो समयदेखी सिलाई पेशामा आवद्ध रहेका छन् । उनले बिभिन्न पहिरनहरुमा डिजाईन बनाएर आफनो उत्कृष्ट कला फेसन डिजाईनर मार्फत प्रस्तुत गरेको र उनको कलाको उच्च सम्मान गर्दै नेपाल टेलररिङ व्यवसायी महासंघले उनलाई सम्मान गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खडकाले उनलाई सम्मान पत्र प्रदान गर्दै टेलरिङ व्यवसायी तथा उत्कृष्ट फेशन डिजाईनर परम्परागत सिपका धनी सिनाललाई बधाई तथा आगामी दिनहरुमा पनि आफनो सिप कलाको सहि सदुपयोग गरी देश बाहिर पनि आफनो कलालाई बेच्न सफल हुनु भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
सिनालले देशैभरबाट फेशन डिजायनमा उत्कृष्ट भएर उक्त सम्मान पाएको बताए । आफुले निर्माण गरेको कोटमा नेपालको झण्डा अंकित डिजायन गरेको र अहिले सम्म नेपालमा उक्त डिजायन नयाँ भएको र कसैले पनि उक्त डिजायन नबनाएको भन्दै आफनो सिप र कलाको उच्च कदर गर्दै सम्मान गरिएको फेशन डिजायनर सिनालले बताए ।
सिनाललाई पहिला पनि नेपाल कपडा तथा सिलाई महासंघ नेपालले उनको सिपको कदर गर्दै सम्मान गरेको थियो ।