भीमदत्त १८ वडा अध्यक्ष देवकोटामाथि साँघातिक आक्रमण, अवस्था गम्भीर, धनगढी रिफर

महेन्द्रनगर । राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन मण्डलका सदस्य रविन्द्र देवकोटामाथि एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरिएको छ । आक्रमणबाट गम्भीर घाइते भएका भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष समेत रहेका देवकोटा उपचारका लागि धनगढी रिफर गरिएका छन् ।

निर्वाचन मण्डलले संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा उनीमाथि संघका नेता कार्यकर्ताले आक्रमण गरेका छन् । उनीहरुले देवकोटालाई हेल्मेट, मुक्का र हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । उनको टाउको, छाती लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । महाकाली प्रादेशिक अस्पताल लगिएका उनलाई टाउको चोटका कारण तत्काल रिफर गरिएको थियो ।

युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायतले ६÷७ जनाको समूहले आक्रमण गरेको देवकोटाले बताए ।
संघका लेखा आयोग सचिव बोगटी सहित रोकाया लगायको समूहले संघको अध्यक्षमा चन्दलाई बनाउन पहल गर्दै आएको थियो । निर्वाचन मण्डलले अधिवेशन आयोजक कमिटीका संयोजक दिनेश विष्टलाई अध्यक्ष बनाएर समिति घोषणा गर्न लागेपछि देवकोटामाथि आक्रमण गरिएको हो ।

देवकोटालाई आक्रमणबाट जोगाउँदा एमाले जिल्ला कमिटी सदस्य प्रशान्त भट्टमाथि प्रहार गरिएको छ । भट्ट र प्रहरीले उनलाई आक्रमणबाट जोगाउन प्रयास गरेका थिए ।वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएपछि प्रहरी कार्यालयमा सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकाश भण्डारीले अहिले पार्टी कार्यालयमा अवस्था समान्य भएको बताए ।

संघको बन्द सत्र सुरु भएपछि उनीहरुले शुक्रबार राति निर्वाचन मण्डल घोषणा नहुँदै विवाद भएको थियो । त्यसमा निर्वाचन मण्डलका अध्यक्षमाथि हातपात प्रयास र केही कुर्ची तोडफोड गरिएको थियो । एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघका इन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नयाँ समिति घोषणा गरिएको छ । इन्चार्ज वस्नेतले अधिवेशन उद्घाटन गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.