वडा अध्यक्ष कुटपिटको घटना अराजकताको पराकाष्ठा र अक्षम्य अपराध : एमाले कञ्चनपुर

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय युवासंघ कञ्चनपुरको जिल्ला अधिवेशनका क्रममा भएको कुटपिटलाई अराजकताको पराकाष्ठा र अक्षम्य अपराधको संज्ञा दिएको छ । पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संगठनमा फरक मत राख्ने विधि र प्रक्रिया हुँदाहुँदै भौतिक आक्रमणमा उत्रिनु र सांघातिक रूपमा कुटपिट गरिनु निन्दनीय भएको जनाएकी छन् ।

शनिवार दिउँसो पार्टी जिल्ला कमिटी सदस्य तथा भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि केही व्यक्तिले कुटपिट गरेका थिए । ‘पार्टी कार्यालयमा भएको कुटपिट, अराजकता र अनुशासनहिनताको घटनाप्रति दुःख व्यक्त गर्दै इमान्दारितापूर्वक पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा गम्भीर घाइते हुनुभएका जिल्ला कमिटी सदस्य  रविन्द्रप्रसाद देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘अधिवेशनको अध्यक्ष मण्डलले पार्टी कार्यालयको हलमा बन्दसत्र सञ्चालन गरिरहेका बेला केही व्यक्तिहरू एकाएक कार्यालयभित्रको कम्प्युटर कक्षमा प्रवेश गरी तोडफोड गर्दै देवकोटालाई तानेर बाहिर ल्याई क्रूर र अमानवीय तवरबाट कुटपिट गरिनु अराजकताको पराकाष्ठा हो, अक्षम्य अपराध हो ।

’ घटनाले संगठनमा अराजकता मौलाएको र आपराधिक मनोवृत्ति छताछुल्ल देखिएको कुराले गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीको जिम्मेवार ओहोदामा बसेका र अधिवेशनमा प्रतिनिधि नै नभएका केही व्यक्तिहरू समेत घटनामा संलग्न देखिएकाले कानूनी प्रक्रिया र पार्टीको विधिअनुसार कारवाही अगाडि बढिसकेको जानकारी गराउँदै सम्पूर्ण पार्टीपंक्ति संयमित रहन आग्रह गर्दछौं ।’
अधिवेशनबाट दिनेश विष्टको अध्यक्षतामा युवासंघ जिल्ला कमिटी निर्वाचित भएको छ । अधिवेशनमा पार्टी पोलिटब्युरो सदस्य तथा केन्द्रीय युवा फाँट इन्चार्ज महेश बस्नेतले अध्यक्ष विष्ट नेतृत्वको कमिटी निर्वाचित भएको घोषणा गरेका थिए । अधिवेशनको बन्दसत्रमा बस्नेतसहित युवासंघका केन्द्रीय नेता र पार्टीका केन्द्रीय नेताहरूको सहभागिता थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.