कञ्चनपुरमा बाढी प्रभावित घरधुरीहरूलाई मानविय सहायता सामाग्री वितरण

महेन्द्रनगर । पुनर्वास नगरपालिका वडा नम्बर ५ को सिमरी र रातो ताल वस्तीका बाढी प्रभावित ३६ घरधुरीलाई मानविय सहायता सामग्री वितरण गरिएको छ। मर्सिकोर नेपालसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएद्वारा सञ्चालित आर्थिक विकासमार्फत् विपद् जोखिम व्यवस्थापन एमरेड परियोजनाले प्रभावित ३६ घरधुरीलाई तत्कालका लागि अति आवश्यक मानविय सहायता सामाग्रीहरू वितरण गरेको हो।


गत श्रावण २२ र २३ गते राति चुरे क्षेत्रमा परेको अविरल वर्षाका कारण सिमरीमा ३१ र रातो तालमा ५ घर गरी ३६ घरधुरी डुवानमा परेको थियो। करिव ३ फिटसम्म डुवान भएको कारण उनिहरू आफन्तजन र छिमेकीको घरमा अस्थायी रूपमा बस्न बाध्य भएका थिए। परियोजनाले बाढी प्रभावित घरधुरीलाई सामान्य अवस्थामा फर्कन सहजताका लागि पुनर्वास नगरपालिका र भीमसेन सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत प्रति घरधुरी एक सेट त्रिपाल, एक जोर रबर बुट, एक थान वाटरगार्ड, एक थान प्लास्टिक बाल्टी, मग, प्लास्टिक गुन्द्री, प्लाष्टिक बोरा, झुल, एक जोर हाते पञ्जा, एक थान टर्च लाईट, हाईजेनिक किट, एक थान नाईलन डोरी र प्लास्टिक डोरी वितरण गरेको हो।


कार्यक्रममा बोल्दै एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाढी प्रभावित घरधुरीलाई तत्काल घर फर्कन सहायताका लागि सानो सहयोग गरिएको बताए। उनले विपद् प्रति स्थानीय सरकार संवेदनशील हुन् अति नै आवश्यक रहेको बताए। उनले भने, ूकुनै पनि विपद्को सामना गर्न समुदाय आफै सक्षम हुनुपर्छ। नगरपालिका र सबै विकास साझेदारहरूले समुदायको विपद् पूर्व तयारी क्षमता, प्रतिकार्य क्षमता र विपद् पश्चात् पूनर्लाभको अवस्थामा फर्कन सक्ने क्षमता बढाउने खालका योजनाहरू बनाउन तथा कार्यान्वयन गर्नमा उनले जोड दिए।
त्यसैगरी पुनर्वास नगरपालिकाका कार्यवाहक नगर प्रमुख भुलिया कुमारी रानाले सहायताका लागि एनएनएसडब्ल्यूए र मर्सीकोर नेपाललाई धन्यवाद दिइन्। उनले विपद्को समयमा आपसी सद्भाव र एकता ठूलो कुरा भएको बताइन्। उनले भनिन्, अघिल्लो वर्षको सिकाईबाट हामीले पनि यो वर्ष रबर बोट किनेका छौँ, पूर्व सूचना प्रणाली स्थापना गरेका छौँ, जसले गर्दा हामी यो वर्ष समयमै सूचना प्राप्त गरेर सुरक्षित हुन सक्षम भयौँ। आगामी दिनहरूमा सिकाईलाई निरन्तरता दिँदै विपद्बाट हुने क्षति कम गर्न हामी प्रयासरत रहनेछौँ।
विपद् फोकल पर्सन ओमनाथ ढकालले जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा भएको श्रावण २७ गतेदेखि २९ गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमान भएको जानकारी गराउँदै सबैलाई सतर्क रहन आग्रह गरे।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.