कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माणका लागी प्रक्रिया शुरु

महेन्द्रनगर । नेपाल आयल निगमले कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । भण्डारण गृह निर्माण गर्न निगमले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । धनगढीमा इन्धनको भण्डारण गृह भए पनि सहर र सडक नजिक भएको तथा असुरक्षित भएकाले मानव बस्तीभन्दा टाढा हुने गरी कञ्चनपुरमा रहेको पारवहन गोदाम कम्पनीसँग जग्गा प्राप्तिका लागि छलफल जारी रहेको छ ।

जग्गा प्राप्ति भएपछि दोस्रो चरणमा भण्डारण गृह निर्माण कार्य अगाडि बढाइने निगमले जनाएको छ । धनगढीमा इन्धन डिपो भए पनि न्यून क्षमता रहेको र दिनप्रतिदिन माग बढ्दै गएकाले धेरै क्षमताको गृह निर्माण गरिने निगमले जनाएको छ । यता, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षमा दिनेश मल्लले कञ्चनपुरका लागी नजिककको भारतिय शहरहरु बरेली लगायतका क्षेत्रहरुबाट ईन्धन ल्याउन सकियो भने, आर्थिक भार पनि कम हुने, इन्धनको आपूर्ति व्यवस्था सहज हुने बताएका छन् ।

हाल कैलालीमा आउने तेलहरु एयरपोर्टमा आवस्यक पर्ने तेल भारतको लखनउबाट, पेट्रोल साहजानपुरबाट आईरहेको अवस्थामा उक्त तेललाई कञ्चनपुरमा ल्याएर भण्डारण गर्न बढी खर्चिलो हुने उनले बताए । सर्वप्रथम कञ्चनपुरमा ४ लेनको सडक पहिलो चरणमा निर्माण हुनुपर्ने, अनि सुख्खा बन्दरगाहा सचालनमा आयो भने, तेल खपत पनि बढने र ईन्धन भण्डारण आवस्यक रहने उनले बताए ।

साथै, दैजि छेला औद्योगिक क्षेत्र पनि संचालनमा आउनु पर्ने र एयरपोर्ट पनि संचालन भयो भने केही सहज हुने कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षमा दिनेश मल्लले बताए । अहिले सुदूरपश्चिममा साधारण तथा नमुना पम्प विक्रेताहरु १ सय ४ वटा फर्महरु दर्ता छन् । कञ्चनपुरमा २६ वटा आयल स्टोर्स पेटोल पम्प दर्ता रहेका छन् । हाल धनगढी डिपोमा पेट्रोल ८६९ किलोलिटर, डिजेल एक हजार ५९० किलोलिटर, मटितेल ४७ किलोलिटर र हवाई इन्धन ४८ किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ ।

सरकारको न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने नीति अनुरूप भण्डारण गृह बनाउन लागिएको निगमले जनाएको छ । हाल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा १० देखि १५ प्रतिशत इन्धन प्राविधिक रूपमा राख्न नमिल्ने निगमले जनाएको छ ।

निगमसँग हाल एक हप्तालाई पुग्ने इन्धन भण्डारण क्षमता रहेको छ । २०७७ मंसिरमा नेपाल आयल निगमले सुदुर पश्चिम प्रदेशको ९० दिनसम्मको आवश्यकता पुरा गर्ने क्षमताको डिपो कैलालीको गोदावरी नगरपालिका ८ मा तयार गर्ने भनेर अनुगमन पनि गरेको थियो । उक्त योजना पनि अहिले अगाढी बढन सकेको छैन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.