महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का स्थानिय हुन सुरेन्द्र पाल्पाली, उनि उक्त क्षेत्रमा विगत ३ दशकदेखी बसोबास गर्दै आएका छन् । वर्षातका कारण नदीमा पानीको बहाव बढेसँगै उनको घर उच्च जोखिमममा रहेको छ। वर्षा संगै नदीमा आएको बाढीले घरहरु भत्काउन थालेपछि मानवीय क्षतीको डरले अर्काको घरमा भाडामा बस्न बाध्य भएको सुरेन्द्र पाल्पालीले बताए ।
करिब तीन दशकदेखि झलारी बजारमा बस्दै आएका पाल्पालीले घर भत्किन थालेपछि निकै चिन्तित रहेको बताए । “घर निर्माण गरेको धेरै वर्ष भयो,” सनवोरा नदीले गर्दा घर धसेको छ, बस्नका लागि जोखिम छ, सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ,मानवीय क्षतिको भयले अहिले कोठा भाडामा लिएर बसिरहेका छौँ,पाल्पालीले भने ।” उनले झलारी बजारमा रहेको घरमा सिलाई पसल सञ्चालन गर्दै आइरहेका छन् । यस व्यवसाय बाटै परिवारको गुजारा चल्दै आएको उनले बताए ।
उनले यहाँका घरहरु बाढीको उच्च जोखिममा रहेका भएपनि कुनै निकायबाट अनुगमन समेत नभएकोमा दुखसो गरे । वडा हुँदै नगरपालिकाबाट कुनै पनि सहयोग नपाइएको उनले बताए । सम्बन्धीत निकायले समयमै नदी नियन्त्रणमा ध्यान दिनुपर्ने उनी बताउँछन् । सुशिला परियार भण्डारीको पनि घर बाढीको उच्च जोखिममा छ । उनले नदीबाट घरहरु जोगाउनका लागि पहल गरिदिनका लागि आग्रह गरेकी छन् ।
नदी नियन्त्रणका लागि विभिन्न निकाय गुहार्दै आएको भएपनि कुनै निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन नसकेको यहाँका स्थानीयको भनाई छ । सामान्य तटबन्धले नदी नियन्त्रण गर्न नसकिने भएकाले दीर्घकालीन योजना बनाई नदी नियन्त्रणका लागि प्रयास गरिनुपर्ने स्थानीय बासिन्दाको भनाई छ । घरहरु धस्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित छन् ।
नगरपालिकाका इन्जिनियर दीपक धामीले नदी किनाराबाट २० मिटर टाढा घरहरु निर्माण गर्नुपर्ने नियम रहे पनि झलारी बजार क्षेत्रका घरहरु नियम विपरीत निर्माण गरिएको अवस्थामा रहेको बताउनुभयो । “नदीको किनारामै घरहरु निर्माण गरिएपछि धस्नु स्वाभाविक नै हो”, उहाँले भन्नुभयो, “माटो भरान गरेर बनाइएका घरहरु धस्नबाट बचाउन तटबन्ध निर्माण गरेर सकिँदैन ।”
Comments are closed.