शिखर नगरपालिका मेयरका स्वकीय सचिव राजेशले भने खुकुरी हनिएको होईन

महेन्द्रनगर । डोटीको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरबाट कुटिएको बताएका उनका स्वकीय सचिव राजेश ठगुन्नाले खुकुरी प्रहार नभएको बताएका छन् । बिहीबार राति मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव ठगुन्ना घाइते भएका थिए । पछि उनले सामाजिक संजालमा आफुलाई मेयर बलायरले खुकुरी प्रहार गरेको लेखेका थिए । तर अहिले उनले आक्रोशमा सामाजिक सञ्जालमा मेयरविरुद्ध स्टाटस लेखेको बताएका छन् ।

उनले आफूलाई भिडबाट कसैले ढुङ्गा हानेको दाबी गरेका छन् । केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ । नाताले काका–भतिजा पर्ने उनीहरूबीच नगरपालिकभित्रै हात हालहाल भएको थियो । ‘हिजो राती बिरामीको उद्धार गर्ने क्रममा नगर प्रमुख र मेरा बीचमा सामान्य विवाद भएको थियो ।

दोहोरो विवादका क्रममा घटना स्थलमा रहेका व्यक्तिहरूले हामीलाई छुट्याउने बेला अकस्मात भीडबाट ढुङ्गा प्रहार भई टाउकोमा सामान्य चोट लागेको थियो,’ उनले भनेका छन्, ‘टाउकोमा चोट लागेपछि मैले आक्रोशित भई सामाजिक सञ्जालमा नगर प्रमुखविरुद्ध आक्रोश व्यक्त गरेको थिए । आक्रोश व्यक्त गर्दा लेखिएका शब्दले नगर प्रमुख र उहाँको पदीय मर्यादामा पर्न गएको असर प्रति क्षमा याचना गर्न चाहन्छु ।’

मेयरसँग घरायसी सम्बन्ध भएको र आफू नजिक पनि भएकाले आफूले आक्रोश व्यक्त गरेको उनको भनाइ छ। उनले नगरप्रमुखको सहयोगी भूमिकामा इमान्दारितापूर्वक कटिबद्ध भएर लाग्ने पनि बताएका छन् ।

सम्बन्धित

Comments are closed.