महेन्द्रनगर । पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सख्त घाइते भएका १३ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको छ ।
मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।
दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।
बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । दुर्घटनापछि घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए ।
बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ ।
Comments are closed.