कैदीहरुका लागि खुशीको खबर, सरकारबाट आयो यस्तो निर्णय

महेन्द्रनगर । दुई तिहाई कैद सजाय भोगिसकेका कैदीहरु कारागार बाहिर रहन पाउने गरी सरकारले प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने भएको छ । प्यारोलमा रहने कैदीहरु कारागारबाहिर रही सामान्य जीवनयापन गर्न पाउनेछन् । १ भदौ २०७५ सालदेखि लागू भएको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनमा भएको प्यारोलसम्बन्धी व्यवस्था पाँच वर्षपछि कार्यान्वयनमा ल्याउने निर्णय भएको हो ।

उक्त ऐनको दफा २९ मा एक वर्षभन्दा बढी कैद सजाय पाएका, दुई तिहाई कैद बिताइसकेका र राम्रो आचरण भएका कसुरदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ । प्यारोलको सुविधा पाउने कैदीहरुले कैद भोग्न बाँकी अवधि तोकिएको शर्त पालना गर्ने गरी प्यारोल अधिकृतको निगरानीमा रहने गरी समाजमा जीवनयापन गर्न अनुमति पाउछन् । त्यो अवधि उनीहरु कारागारमा बस्नुपर्दैन ।

कतिपय कसुरदारहरुलाई उनीहरुको पृष्ठभूमिका आधारमा शर्त तोकिनसक्छ । तर केही गम्भीर प्रकृतिका कसुरमा जोडिएका कैदीहरुले प्यारोलको सुविधा पाउँदैनन् । उक्त ऐनमा भएको व्यवस्था अनुसार, जन्मकैद, बलात्कार, भ्रष्टाचार, तेजाब प्रहार, मानव बेचबिखन, संगठिन अपराध, सम्पत्ति शुद्धीकरण, क्रुर अमानवीय यातना, मानवता विरुद्धको अपराध र राज्यविरुद्धको कसुरमा मुछिएको कैदीले यो सुविधा पाउने छैनन् ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि कारागार प्रशासनले प्यारोलमा राख्ने कैदीहरुवारे प्यारोल बोर्डमा सिफारिस गर्नेछ । बोर्डको सिफारिस अनुसार, जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिन सक्ने व्यवस्था छ । प्यारोलको सुविधा पाउने कैदीहरु कारागारबाट निस्किएर समाजमा बस्न पाउने छन् । त्यसरी बस्दा तोकिएको शर्त पूरा गर्नुपर्नेछ । उनीहरुलाई प्यारोल अधिकृतहरुले निगरानी गर्ने कानुनी व्यवस्था छ ।

प्यारोलको सुविधा पाउनेहरु त्यसरी समाजमा बस्दाको अवधिको कैद भुक्तान भएको मानिनेछ । तर शर्त उल्लंघन गरेमा बाँकी रहेको कैद फेरि कारागारभित्रै भुक्तान गर्नुपर्नेछ ।महान्यायाधिवक्ता डा दिनमणि पोखरेल विभिन्न जिल्लाका कारागारमा भ्रमण गर्दा कैदीहरुको कठिन अवस्था देखेकाले कानूनमा भएको व्यवस्था कार्यान्वयनको पहल गरेको बताउँछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.