ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या

अमरगढी– डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । 
घटनास्थलमा पुगेका प्रहरीका अनुसार करिब ५ वटा गाईको घाँटी ग्यालविन तारले बाँधेर सल्लाको रुखमा बाँधिएको छ । यस्तै, एउटा गाईको बंगरा भेटिएको छ भने अर्को एउटा ग्यालविन तार खाली भेटिएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले करिब ७ वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान गरेको छ । गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
स्थानीय वन उपभोक्ताहरु घाँस दाउराको लागि जंगलमा पुग्दा गाईको हत्या गरिएको देखेपछि प्रहरीलाई खबर पुगेका थिए ।
शुक्रबार बिहान प्रहरी, स्थानीय प्रतिनिधि र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि गत असोजमा सुर्खेतमा सामूहिक रुपमा गौहत्या गरिएको थियो । सुर्खेतमा भएको सामूहिक गौहत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले समिति नै बनाएर छानबिन गरेको थियो ।
समितिले घटनामा संलग्नहरुलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)लाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रकरणमा क–कसलाई कस्तो कारबाही भयो भन्ने विषय भने सार्वजनिक भएको छैन ।
सम्बन्धित

Leave A Reply

Your email address will not be published.