महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन्। नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक(पटक आग्रह गर्दै आएको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
राजदूत अन्सारीले इसराइल र हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागि प्रयास भइरहेको उनले बताए।‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं।’
मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। यस्तै मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुराकानी भएको थियो।
मन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औं फोरममा सहभागीता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
Comments are closed.