महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका छन् । ‘यो आउने सदनमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा आफुहरु लागेको उनले बताए ।
नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले ‘त्यो सम्भव भएन भने अन्य विकल्वबारे छलफल सुरु गर्ने जानकारी दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताए ।
‘प्रधानमन्त्रीज्यूसंग पनि हामीले अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिय पूरा गरिदिन आग्रह गरेक छौं,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले थपे, ‘यदी त्यहाँ सम्भव हुँदैन भने अन्य विकल्पबारे छलफल गर्छौं भनेर हामीले भनिसकेका छौं ।’ ०७५ साल असोजमा तत्कालिन प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी कैलाली जिल्लाको गोदावरीस्थित वन क्षेत्रलाई घोषणा गरेको थियो । तर, अहिलेसम्म राजधानी स्थापनाका लागि जग्गा प्राप्तीको प्रक्रियासमेत पूरा भएको छैन ।
मुख्यमन्त्री शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणका क्रममा डडेल्धुरा पुगेका हुन् । सोही क्रममा मुख्यमन्त्री शाहले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल पनि गरेका छन् । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था र प्रगति बुझ्न दार्चुला, बैतडी र डडेल्धुरा जिल्ला पुगिसेका मुख्यमन्त्री शाहको अन्य पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण गर्ने कार्यक्रम छ ।
Comments are closed.