महेन्द्रनगर । कञ्चनपुरमा रहेको सुदूरपश्चिम दलित विद्यार्थी छात्रवासमा रकमको अभावले भवन निर्माणमा समस्या भएको छ । २०७२ सालमा निर्माणको थालनी गरेको उक्त छात्रवासमा बजेटको अभावले अहिले जिर्ण बन्दै जाने खतरा बढेको छ । बुधवार संघिय सरकारले दिएको बजेट २० लाखले पहिलो तलाको ढलान भएको छ ।
भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले विगतमा भएका सहयोग रकमले पनि छात्रवास निर्माण गर्न समस्या भएको र आगामी दिनमा भीमदत्त नगरपालिकाले पनि केही रकम विनियोजन गर्ने बताउनु भयो । यो अधुरो रहेको दलित विद्यार्थी छात्रवासलाइ सुचारु गर्न पालिकाको साथ र सहयोग रहेको बताउँदै अब आउने आर्थिक वर्षमा केही न केही बजेट सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । दलित समुदायका विद्यार्थीहरुले सहज रुपमा छात्रवासमा बसेर पढन पाउँने वातावरण निर्माण गर्न पालिका सदैव लाग्ने बताउनु भयो ।
विगत ८ वर्षदेखी विभिन्न समयमा संघिय सरकार, विभिन्न गैर सरकारी संघसंस्थाहरु निकायहरुसंग हार गुहार गर्दा पनि आवस्यक बजेट नहुँदा छात्रवास निर्माणमा समस्या भएको सुदूरपश्चिम दलित विद्यार्थी छात्रवासका अध्यक्ष हरीहर परियारले बताउनु भयो । ८ वर्षपछि बुधवार पहिलो तलाको ढलानको कार्य भएको छ । संघिय सरकारबाट २० लाख बजेटको सहयोगमा पहिलो तलाको ढलान भएपनि अरु सबै काम बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो ।
यो छात्रवासलाइ सुचारु गर्ने २० देखी २५ लाख बढी आवस्यक देखिएको भएपनि स्थानिय सरकारले खासै चासोको रुपमा नहेरेको भएर नै संचालन गर्नमा समस्या भएको अध्यक्ष परियारले बताउनु भयो । अहिले पनि बजेटका लागी प्रदेश सरकारसंग पनि जानकारी दिएको भएपनि सहयोग हुन नसकेको उहाँले बताउनु भयो ।
बजेटको व्यस्थापन भयो भने यो आर्थिक वर्षको नयाँ शैक्षिक सत्रमा छात्रवास लाइ सुचारु गर्ने योजना रहेको भएपनि बजेट व्यवस्थापन नहुँदा समस्या भएको अध्यक्ष परियारले बताउनु भयो अहिले दलित विद्यार्थीहरुले सहज रुपमा कोठा भाडामा नपाउने अवस्था रहेको र विद्यालय भन्दा टाढा गएर भाडामा बस्नु पर्ने बाध्यता रहेको अवस्थामा यसलाई सुचारु गर्नमा सबैले सहयोग गरिदिन आग्रह गर्नु भयो ।