अब शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घडियाल गोही पनि हेर्न पाईने

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अब घडियाल पनि हेर्न पाईने भएको छ । शनिवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीको लाटीघाट र अन्य ठाँउमा २५ वटा घडियालहरु पुर्नस्थापना गरिएका छन् । अहिले चारदेखि पाँच वर्ष उमेरका २५ वटा घडियालहरु गोहीहरु चौधर नदीमा ल्याईएका हुन् ।

लिखित रुपमा सन् १९८० सम्म चौधर नदीमा गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यस यता हाल मगर गोहीमात्र रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका ३० देखी ५० वटा घडियालहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने चौधर नदीमा चरणवद्ध रुपमा पुर्नस्थापना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा संकटापन्न अवस्थामा रहेका घडियालहरु अहिले कालिगण्डगी, सप्तकोशी, कर्णाली र बबई नदीमा पाईने भएपनि आज भन्दा ४० वर्ष पहिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने चौधर नदीमा पनि घडियाल रहेको विगतको तथ्याङकले देखाएको वार्डेन भट्टराइले बताउनु भयो । त्यही भएर आफुहरुले पनि उक्त क्षेत्रमा घडियाललाई व्यवस्थापन गर्न सकिन्छ भन्ने हेतुले अहिले ३ भाले र २२ पोथी घडियाललाई चौधर नदीमा पुर्नस्थापना गरिएको जानकारी दिनुभयो ।

साथै उक्त चौधर नदीमा घडियालहरुका लागी वैकल्पिक वासस्थानको रुपमा पहिचान भएकोले यसको विस्तृत अध्ययन गर्न कार्तिक महिनामा वरिष्ठ इकोलोजिष्ट श्याम कुमार शाहको संयोजकत्वमा ५ जना कार्य दल गठन गरीएको थियो । सर्वेक्षण पश्चात उक्त कार्यदलले निर्माण गरेको प्रतिवेदनको आधारमा वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार प्रक्रिया पुरा गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घडियालहरु ल्याइएको वार्डेन भटट्राईले जानकारी दिनु भयो ।

साथै यसले बाह्य तथा आन्तरिक पर्यटकहरुले अब शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि घडियालहरु हेर्न पाउने छन र पर्यटकहरुको आवागमन पनि बढने आफुहरुले विश्वास लिएको उहाँले बताउनु भयो । अहिले पहिलो चरणमा २५ वटा घडियाहरु ल्याएको भएपनि निकट भविश्यमा फेरी २५ वटा ल्याएर जम्मा ५० वटा घडियालहरु चौधर नदीमा पुर्नस्थापना गरिने छ । घडियाललाई सफा पानी चाहिने र आहाराको रुपमा माछाहरु बढी खाने भएका ले चौधर नदीमा यो प्रजातीलाई बासस्थान पनि उपयुक्त रहेको भएर लोपोन्मुख प्रजाती भएकाले सबैले यसको संरक्षण गर्नमा र यसलाई बचाउनमा लाग्नु पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन भट्टराइको भनाई रहेको छ ।

विगतमा चोर शीकारीले गर्दा नै आज भन्दा ४० वर्ष पहिला लोप भएको भन्ने देखिन्छ तर अहिले चोरी पैठारी शुन्य मात्रा रहेको भएर नै चौधर नदीमा घडियालहरु अब सुरक्षित रुपमा संरक्षित हुन्छन भनेर अहिले यो पुर्नस्थापना गरिएको उहाँले जानकारी दिनु भयो । ्विश्वमा पाइने २४ प्रजातिका गोहीमध्ये नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ ।

घडियाल सफा र निरन्तर बगिरहने ठूलाखाले नदीहरूमा मात्र पाइन्छन् भने मगर यस्ता नदीका अलावा पनि तालतलैया, पोखरी, तलाउ घोलघाल, जलाशय र वर्षायाममा धान खेतमा समेत देख्न सकिन्छ । घडियालको मुख्य आहारा माछा हो भने मगरले माछाको अलावा जंगली जनावर एवं घरपालुवामा कुकुरको समेत सिकार गर्दछ । वर्तमान समयमा मगरको संख्या लोप हुने अवस्थामा नभए पनि घडियाल भने अति संकटापन्न अवस्थामा पुगेको छ । हाल नेपाल र भारतमा गरेर ६ सयजति परिपक्क उमेरका घडियाल रहेका छन ।

भनिन्छ, घडियाल गोही बाघभन्दा २० गुणा दुर्लभ तथा अतिसंकटापन्न सूचीमा पर्न गएको छ । नदीको किनारमा रहेका अग्ला बालुवाका ढिस्काहरूमा घडियालले जाडो याममा घाम ताप्ने, प्रजननको समयमा अन्डा पार्ने र बच्चा कोरल्ने गर्छन् । दक्षिण एसियाका नेपाल र भारतमा पाइने घडियाल प्रकृतिका सौन्दर्य मानिन्छन् । तर चोरी सिकार र प्रदूषण यसका चुनौती बनेका छन्। नदी क्षेत्रमा हुने घडियालका अन्डाहरू खाइदिने र फुटाइनेदिने गर्दा समस्या निम्तिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.