महेन्द्रनगर । सुदुरपश्चिमका सीमा नाकामा कार्यरत रहेका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि तलब पाएका छैनन्। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला हेल्थ डेस्कमा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश बनेका छन्।
लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्। कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउन यता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन्।“साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो”, धामीले भनिन्, “तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।” गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् ।
लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्। “हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ”, उनले भनिन्, “अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं।” उनले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताइन्।
गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ।विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन्।
स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए। सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब नपाउँदा खर्च चलाउनसमेत समस्या भइरहेको बताएका छन्।
Comments are closed.