झण्डै पाँच हजार जनाको कोरोना भाइरस परीक्षण

सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। पीसीआर प्रविधि र आरडिटीमार्फत अहिलेसम्म चार हजार नौँ सय ८६ जनाको कोरोना परीक्षण गरिएको हो। ६ हजार ३७ जनाको नमूना संकलन भएकोमा अझै एक हजार ५१ जनाका रिपोर्ट आउन बाँकी छ। आरडिटीमार्फत भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआरमार्फत भएका परीक्षणमा पाँचजनामा कोरोना ’पोजेटिभ’ देखिएको छ। अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ। बुधबार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप चार सय ९६ जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ। केन्द्रका अनुसार बुधबार धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट चार सय ९६ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट ’नेगेटिभ’ आएको छ। सुदूरपश्चिम प्रदेशबाट नमूना संकलन गरी कोरोना परीक्षण थालिएको झण्डै दुई महिनामा मंगलबारसम्म ९ सय ८१ जनाको रिपोर्ट आएको थियो भने बुधबार थप चार सय ९६ जनाको नमूना परीक्षण भएसंगै उक्त संख्या बढेर एक हजार चार सय ७७ पुगेको छ। केन्द्रका अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा बुधबारसम्म पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि दुई हजार ५ सय २८ जनाको नमूना संकलन गरिएको छ। अझै एक हजार ५१ जनाको रिपोर्ट भने आउन बाँकी छ। यस्तै थप तीन हजार ५ सय ९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट ’नेगेटिभ’ आएको केन्द्रले जनाएको छ। कैलालीमा एक हजार नौँ सय ४३ जना, कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४६, दार्चुलामा ९३, डडेल्धुरामा ९, डोटीमा तीन सय १२, बझाङमा चार सय ६४, अछाममा ६४, बाजुरामा ६३ जनाको र्‍यापिड टेस्ट गरिएको छ। सबैको रिपोर्ट ’नेगेटिभ’ आएको जनाइएको छ।सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८४ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ। जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ६ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा डोटी बाहेक अन्य आठ जिल्लामा एक हजार २७ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.