डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु

प्रतिवेदन मन्त्रालयमा पेस भएपछि डडेल्धुरामा प्रयोगशाला निर्माण सुरु हुने

डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको छ। संघीय सरकार अन्तरगतको विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना भए यहाँका पहाडी जिल्लाका लागि समेत सहज हुनेछ। डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययनसमेत सुरु गरिसकेका छन्। संघीय सरकारले यस अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने योजनाअनुुरुप अध्ययन थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए। अस्पतालको क्षमताका आधारमा प्रयोगशाला स्थापना जरुरी रहेको र प्रयोगशाला भएमा अन्य सेवासमेत सहज हुने अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। पिसिआर ल्याब स्थापना भए सुदूरका पहाडी जिल्लाका जनतालाई निकै ठूलो राहत हुने र अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरुले समेत काम गर्न सक्ने उनले बताए। प्रयोगशाला सञ्चालनमा आए कोरोनाको मात्रै नभई अन्य चेकजाँचका लागि समेत सहज हुने विश्वास गरिएको छ। डडेल्धुरा अस्पताल ५ सय शैयाभन्दा बढीको क्षमता रहेकाले प्रयोगशाला स्थापना भएपछि अस्पतालले प्रदान गर्ने सेवा समेत प्रभावकारी हुनेछ। अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि स्थानीय सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डाक्टर श्रवणकुमार मिश्र नेतृत्वको टोलीले प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको बताएका छन्। उनको प्रतिवेदन मन्त्रालयमा पेस भएपछि डडेल्धुरामा प्रयोगशाला निर्माण सुरु हुनेछ।

सम्बन्धित

Comments are closed.