धनगढी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण रोकियो

किट सकिएपछि कोरोना परीक्षण बन्द

धनगढी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण रोकियो
धनगढी, २५ बैशाख
कैलालीको धनगढी प्रयोगशालामा कोरोना भाइरस (कोभिड(१९) को परीक्षण रोकिएको छ । परीक्षण गर्न आवश्यक किट सकिएपछि धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी(पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण बन्द भएको हो । बुधबार राति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ । थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङ ( प्रक्रिया)का लागि पिसिआर किट र आरएनए एस्ट्राक्सन किट आवश्यक पर्छ । पिसिआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ । अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ । किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० जना भन्दा बढिको अहिलेसम्म नमुना परीक्षण गर्न सकिएको छैन् । धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन बन्द गरिएको थियो । किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन । काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ । किट अभाव हुँदा संकलित नमुनाको समेत परीक्षण रोकिएपछि शंकास्पदको नमुना संकलन समेत अहिलेलाई बन्द गरिएको छ । किटको मौज्दात सकिएको र शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनु भयो । उहाका अनुसार शुक्रबार संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ ।

सम्बन्धित

Comments are closed.